बलात्कारका आरोपी जेलमा होइन अस्पतालमा
काठमाडौँ – ललितपुरको भैसेपाटी नजिकै रहेको मगरगाउँस्थित सानो खोकनामा मध्यरातमा महिला माथि बलात्कार गरेको आरोपमा अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएका भूषण थापा अस्पतालमा सुतिरहेको खुलासा भएको छ । ललितपुरकी आकृति (नाम परिवर्तन) लाई २०७२ कार्तिक १४ गते मध्यरातमा मगरगाउँ पुर्याएर जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुर जिल्ला अदालतले भुषणलाई थुनुवा पुर्जी दिई कारागारमा राख्न आदेश दिएको थियो । ललितपुर जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको आदेशमा भनिएको छ, ‘प्रतिवादीले लोभ लालचमा पारी आफ्नो सवारी साधनमा राखी एकान्तमा लगेर जबर्जस्ती करणी गरको अभियोगपत्रका आधारमा रातीसँगै रहेको पुष्टि भएको छ । प्रतिवादी भुषण थापाले नियमानुसार सिधा खान पाउने गरी थुनामा राख्न कारागार पठाईदिनु ।’ २०७२ मंसिर ७ गते जिल्ला अदालतले यस्तो आदेश दिएसँगै कारागारमा हुनुपर्ने आरोपी थापा हाल ग्वार्को स्थित किष्ट मेडिकल कलेजको भिआईपी क्याविनमा आरामपुर्वक बसिरहेका छन् । यसअघी पिडीत आकृतीको जाहेरीपछी पक्राउ परेका थापा जावलाखेल प्रहरीको हिरासतमा नबसेर पाटन अस्पतालमा बसेका थिए । त्यतिवेला थापालाई प्रहरीले पाटन अस्पतालमा पठाएको पत्र रातोपाटीलाई प्राप्त भएको छ । उक्त पत्रका अनुसार भुषणले ‘०६९ सालमा आफु सवारी दुर्घटनामा परेकोले अहिले पनि दायाँपट्टिको खुट्टा दुखेकाले उपचार गराई पाउँ’ भनी निवेदन दिएका थिए । सोही निवेदनका आधारमा महानगरीय प्रहरी परिसर जावलाखेलले उनलाई सुरक्षा सहित पाटन अस्पतालमा बस्ने ब्यवस्था मिलाएको थियो । अहिले ललितपुर जिल्ला अदालतले कारागार पठाउन आदेश दिएपछि उनी अर्को निवेदन दिएर उपचारको बहानामा किष्ट मेडीकल कलेजमा बसिरहेका छन् ।


0 comments
Write Down Your Responses