• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » फेसबुके प्रेमिकाले गरिन विदेशबाट फर्किएका प्रेमीलाई अपहरण गरी लुटपाट
फेसबुके प्रेमिकाले गरिन विदेशबाट फर्किएका प्रेमीलाई अपहरण गरी लुटपाट

काठमाडौं, १७ चैत - फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन्।

गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट चिनजान भएकी काभ्रे भकुन्डेबेसीकी २३ वर्षीया पिया थापाले प्रेमको नाटकमा अपहरण र लुटपाट गरेकी हुन्।

व्यापारका लागि भनेर भेट्न बोलाएर सहयोगी लगाई थापाले विकलाई अपहरण गराई पैसा र मोबाइल लुटपाट गराएकी हुन्। पिया र उनका वास्तविक प्रेमी ललितपुर इमाडोलका सन्तोष घिमिरेलाई प्रहरीले तीन साताअघि पक्राउ गरेको थियो। गत १४ फागुन बिहान ४ बजे विकको कोटेश्वरबाट अपहरण भएको थियो। २० फागुनमा महानगरीय प्रहरी वृत्त बानेश्वरले पिया र सन्तोषलाई पक्राउ गरेको हो।

५७ हजार नगद, मोबाइल, एटिएम लुटियो
विकको ५७ हजार नगद, दुईवटा सामसुङ मोबाइल, एटिएमलगायतका धनमाल लुटिएको थियो। जसमध्ये २५ हजार नगद भने बरामद भएको डिएसपी चिमोरियाले बताए। प्रहरीले अपहरणमा प्रयोग भएको बा३९प ५२१ नम्बरको मोटरसाइकलसमेत बरामद भएको छ। विकको मोबाइल, पावर बैंक भने थापाको कोठाबाट बरामद भएको छ। पक्राउ परेकालाई प्रहरीले अपहरण तथा शरीर बन्धकका साथै लुटपाट मुद्दा दायर गरेको छ।

कतारमा रहँदा पियासँग फेसबुकमा चिनजान
विक वैदेशिक रोजगारीमा कतारमा रहेका वेला उनको थापासँग फेसबुकमा चिनजान भएको थियो। च्याटमा कुरा गर्दागर्दै थापाले प्रेमको नाटक गरेकी थिइन्। नेपाल आउन र सँगै बस्ने अनि मिलेर व्यापार गर्ने उनले प्रस्ताव राखेकी थिइन्। सोहीअनुसार दुई महिनाअघि विक कतारबाट नेपाल आएका थिए। नेपाल आएर केही दिन गोरखा पुगेर फर्किएपछि पियासँगै व्यापार गरी सँगै बस्ने सपनासहित उनी काठमाडौं आएका थिए। तर, तिनै प्रेमिकाबाट उनी अपहरणमा परे।

वास्तविक प्रेमीको योजनामा विकसँग प्रेमको नाटक
डिएसपी चिमोरियाका अनुसार पियाले उनका वास्तविक प्रेमी सन्तोष घिमिरेसँग मिलेरै प्रेमको नाटक गरी अपहरणको योजना बनाएकी थिइन्। पक्राउ परेका घिमिरे पियासँग ‘लिभिङ टुगेदर’ का रूपमा बस्दै आएका थिए। दुवैजना बेरोजगार रहेको प्रहरीले जनाएको छ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar