बम विस्फोटमा परी ३५ जनाको मृत्यु भएपछि ब्रसेल्सको विमानस्थल बिहीबार पनि बन्द
ब्रसेल्स, ११ चैत - विमानस्थल र एक मेट्रो स्टेसनमा छुट्टाछुट्टै विस्फोट गराउँदा कम्तिमा ३५ जनाको मृत्यु भएपछि विमानसेवा अवरुद्ध रहँदै ब्रसेल्सको विमानस्थल बिहीबार पनि बन्द भएको छ।
घटनाबारे छानबिन भइरहेको र विमानस्थल सञ्चालनमा ल्याउँदा छानबिन गतिविधिमा समस्या हुने भन्दै विमानस्थल बिहीवार पनि बन्द गरिएको विमानस्थलका प्रमुख कार्यकारी अधिकृत अरनाउद फेइस्टले बताएका छन्। यसअघि बुधवार पनि विमानस्थल बन्द गरिएको थियो।
बेल्जियम विमानस्थल आक्रमणमा दाजुभाइको संलग्नता ब्रसेल्सको व्यस्त विमानस्थलमा आक्रमण गर्ने दुई व्यक्ति नोभेम्बर १३ मा पेरिस आक्रमणमा पनि संलग्नता रहेका मानिएका खालिद र इब्राहिम एल बक्राउई नामधारी दाजुभाइ रहेको प्रहरी छानबिनमा थाहा हुन आएको आरटीबीएफ टेलिभिजनले बताएको छ।
प्रहरीले उनीहरुलाई सालेह अवेसलामसँग सम्पर्क रहेको दाबी गर्दै आएको छ। आत्मघाती बम विस्फोटमा परी ३५ व्यक्तिको मृत्यु भएपछि त्यहाँ बुधबारदेखि तीन दिनसम्म शोकको घोषणा गरिएको छ। विमानस्थलमा विस्फोट भएको एक घण्टापछि स्थानीय समयअनुसार करिब ९ बजे पुनः मेट्रो स्टेसनमा विस्फोटन भएको थियो। यस विस्फोटमा परी सयौँ व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। घटनापछि बेल्जियमले राष्ट्रिय शोकको घोषणा गरेको छ। जसअनुरूप तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने सरकारले बताएको छ।
बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले यस दिनलाई कालो दिनको संज्ञा दिएका छन्। यस्तो भीषण आक्रमण बेल्जियमले यस अघि कहिल्यै नदेखेको पनि उनले टिप्पणी गरेका छन्। साथै देशबासीका नाममा सम्बोधन गर्दै उहाँले यस आक्रमणका दोषीलाई कदापि नछोड्ने र उनीहरुलाई जसरी पनि कानुनी कारबाहीको दायरामा ल्याइने आश्वासन दिलाएका छन्।
आक्रमणकारीको खोजीलाई प्रहरीले राजधानी ब्रसेल्ससहित विभिन्न सहरसम्म नै पुर्याएको छ। हेलिकोप्टरबाट पनि प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ।


0 comments
Write Down Your Responses