जानी राखौं किन आउँछ अनुहारमा चिल्लोपना ?
बैशाख ८ । यतिखेर कडा घाम लाग्छ । थौरै घाममा निस्कँदा पनि अनुहारको छाला डढ्ने समस्या हुन्छ । त्यसैले सक्दो घाममा ननिस्कन पाए हुन्थ्यो भन्ने सबैलाई लाग्छ ।
तर, घाममा ननिस्किएर दैनिकी चल्दैन । चिसो मौसममा भन्दा गर्मीमा छालामा देखिने समस्या फरक हुन्छन् । गर्मीमा छाला कालो हुने मात्रै होइन, चायाँपोतो आउने र अनुहारमा कालो धब्बा बस्ने समस्या हुन सक्छ ।
छालामा चिल्लोपना बढी देखिन्छ । यो मौसमका कारण हुने नियमित प्रक्रिया भए पनि धेरैलाई समस्या लाग्छ । गर्मीका कारण ताप शरीरको भित्री भागसम्म पुग्छ ।
घाममा निस्कँदा यसका किरणले छालाभित्र रहेको तेलीय पदार्थ पगालिदिन्छ । त्यही पदार्थ बाहिर निस्कन्छ । त्यसपछि धेरैले आफ्नो अनुहारमा चिल्लोपना बढेको भनेर समस्याका रुपमा प्रस्तुत गर्छन् ।
यसका लागि क्लिनिङ लोसनको प्रयोग गर्नुपर्छ । जसले सतहमा भएको अनावश्यक पदार्थ सफा गर्छ । क्रिमयुक्त मस्चराइजर प्रयोग गर्नेले यो मौसममा जेल वा लोसनमा भएको मस्चराइजर प्रयोग गर्नु लाभदायी हुन्छ ।
चिल्लो निस्कन रोक्नु हुँदैन । बरु यसलाई पटक–पटक कसरी सफा गर्ने भन्नेमा सोच्नुपर्छ । यसका लागि तेल सोस्ने खालको पेपर पाइन्छ बजारमा । त्यसको प्रयोग गर्न सकिन्छ । यो समयमा सूर्यका किरणले छालाका केही अंश नाश गर्न सक्छ ।
मरेका अंशका कारण अनुहारमा धब्बा देखिन थाल्छन् । यसका लागि त्यसलाई निकाल्ने विधि अपनाउन सकिन्छ । तर, यो जथाभावी गर्नुहुँदैन । चिकित्सकको सल्लाहअनुसार मात्रै अपनाउनुपर्छ ।
-डा. सोनिया गुप्ता, कस्मेटिक ड्रम्याटालोजिस्ट, ड्रमा नेपाल स्किन एन्ड हेयर क्लिनिक, कुपण्डोल –स्वास्थ्य खबरबाट

0 comments
Write Down Your Responses