विरामी हुँदा अस्पताल लैजानुको साटो तातो झिरले पोलेर उपचार
राजधानी र अन्य सहरमा अत्याधुनिक सुविधा र प्रविधि सम्पन्न अस्पतालहरू खोल्ने प्रतिस्पर्धा नै छ तर यही देशको अर्को भूभाग गोरखाको हिमालपारि चीनसँग जोडिएको बिही गाविसमा भने अहिलेसम्म बिरामी पर्दा झिरले पोलेर उपचार गर्ने कहालीलाग्दो अन्धविश्वास छ ।
स्थानीय तेन्जिङ लामाका अनुसार एक महिनाअघि बिही २ का टसी नुर्बु घरको तला उक्लिँदा भर्याङबाट लडे । उनको देब्रेपट्टिका एकजोर करङ भाँचिए । गाउँको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी थिएनन् । प्राथमिक उपचार पनि नपाएका उनको उपचारको जिम्मा गाउँका धामीले पाए ।
धामीले फलामे झिर तताए । अनि दुखेको ठाउँ पत्ता लगाएर छेडे । दुई इन्च गहिरो पोलेर कलिलो मासुसम्म छेड्यो । घाउ ठूलै भयो । पीडा कति भयो भने भाँचिएको ठाउँ दुखेको बिरामीले पत्तै पाएन, पोलेको ठाउँमात्र दुखेको महसुस भयो । करङ त जोडिने कुरै भएन । केही सातापछि पहिलेभन्दा दुख्नचाहिँ आफैं कम भयो । उनको पोलेको घाउ भने अझै निको भएको छैन ।
बिही २ कै हुर्से डोल्मालाई जिउ दुख्ने रोग लाग्यो । ‘ढाड र कम्मर खुबै दुख्यो । काम गर्नै नसक्ने गरी ज्यान दुख्यो । अनि ढाडको ठाउँठाउँमा आगोले पोलें’, नेपाली भाषा बोल्न नजान्ने हुर्सेको भनाइ उद्धृत गर्दै स्थानीय तेन्जिन लामाले सुनाए, ‘तलजस्तो यहाँ डाक्टर छैनन् । जहाँ दुख्छ, त्यहाँ पोल्छौं । यसो नगरे के गर्ने ? ’
अर्की वृद्धा दोर्जे साङ्मोको पनि शरीरभरि पोलेको खत छ । टाउको दुख्ने, निद्रा नलाग्ने, आँखाबाट आँसु झरिरहने समस्या भयो । धामीले उपचार गराउन भन्दै उनको ज्यानभरि ठाउँठाउँमा पोले । अहिले ज्यानभरि पोलेको डाम बसेको उनी बताउँछिन् । ‘धामीले खास ठाम पत्ता लगाएर एकप्रकारको जडीबुटी राखेर आगो सल्काइदिने चलन छ । यसो गर्दा बेथा निको हुन्छ ।
पोलेको घाउ निको हुनचाहिँ एकडेढ महिना लाग्छ’, नेपाली भाषा नजान्ने उनको भनाइ तेन्जिङले सुनाए, ‘पोल्दापोल्दै सहनै नसक्ने गरी दुख्छ । पोलेको दुखाइले रोगको दुखाइ कम गराइदिन्छ ।’ ज्यान पोल्ने आगो पनि फलाम र दर्सनढुंगा ठोकेर निकालिन्छ । ‘एकदम पोल्छ । बिरामी छट्पटिन्छ । अनि केही बेरपछि होस आएजस्तो हुन्छ । त्यतिबेला सबै रोग निस्केर गयो भन्ने विश्वास छ’, तेन्जिङले भने ।
आफू सानो छँदा घाउ निको बनाउन भन्दै हातमा झिर गाडिदिँदा अहिलेसम्म हात बांगाको बांगै भएको बिही ९ का नवीन गुरुङ बताउँछन् । ‘सात महिनाको हुँदा हातमा पिलो आयो’, कुहिनाको खोपिल्टो देखाउँदै उनले भने, ‘पिलोको खिल निकाल्ने भनी जान्नेले फलामको सुइरो तताएर गाडेछन् ।


0 comments
Write Down Your Responses