‘क्वालिटी’को मिल्क ब्रेडमा माउसुली
बिहानको खाजाको रुपमा अधिकांश उपभोक्ताहरुले पाउरोटी मन पराउँछन् । चिया पसल तथा होटल वा घरमै पनि बिहानको खाजामा पाउरोटीलाई नै लिइने गरिन्छ । छिटो र सजिलो हुने भएकाले पनि पाउरोटीलाई खाजाको रुपमा लिइन्छ । तर अब पाउरोटी खाँदा पनि सावधानी अपनाउनु पर्ने भएको छ । कतै माउसुली त छैन ।
धरान क्वालिटी बेकर्सले उत्पादन गर्दै आएको मिल्क ब्रेडमा माउसुली भेटिएको छ । धरान १४ हात्तिसारकी ममता मण्डलले ६ गते खरिद गरेको मिनीसाइजको मिल्क ब्रेडको प्याकिङ भित्रै पाउरोटीमा सुकेर टाँसिएको अवस्थामा माउसुली भेटिएको हो । मण्डलले बिहीबार स्थानीय सत्य शाहको पसलबाट धरान क्वालीटी बेकर्सले उत्पादन गरेको मिनि प्याकको मिल्क ब्रेड २० रुपैयाँमा खरिद गरेकी थिइन ।
पाउरोटी शुक्रबार बिहान खाने क्रममा पाउरोटीमा सुकेको माउसुली टाँसिएको पाएकी थिइन् । उनले बिहान १ वर्षीय छोरीलाई पाउरोटी चुँडेर दिन खोज्दा माउसुली देखेकी थिइन । ‘तीन पिस हजुरआमालाई २ पिस जेठी छोरीलाई र तीन पिस आफूले खान खोजेकी थिएँ, छोरीले मागे पछि दिन खोज्दा त माउसुली पो रहेछ ।’ उनले भनिन् ।
माउसुली भेटिएको पाउरोटीको प्याकेटमा कुनै उत्पादन मिति र म्याद सकिने मिति समेत लेखिएको छैन । जुनसुकै उपभोग्य वस्तुमा उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य लेख्नुपर्ने कानुनी प्रावधान छ । तर क्वालिटी बेकर्सले उत्पादन गरेको कुनै पनि पाउरोटीको प्याकेटमा मिति लेखिएको पाइएन । पाउरोटीकै उद्योगमा गएर हेर्दा पनि कुनै पनि प्याकेटमा मिति नलेखी बजार लगिँदै गरेको पाइएको थियो ।
पाउरोटीमा माउसुली भेटिए पनि खरिद गरेको पसलका साहुजी सत्य शाहलाई जानकारी गराएकी थिइन् । तर पसल साहुले कम्पनीमा लगेर देखाउनु भन्दै जवाफ दिएको उनले बताइन् । ‘बिरोलोले खायो भने त छाद्न थाल्छ मेरो १ वर्षको छोरीले खाएको भए के हुन्थ्यो, उनले आक्रोश पोखिन् ।’ उनले भनिन्, ‘यो उद्योगकै लापरवाही हो ।’
पसलका मालिक सत्य शाहका अनुसार मण्डलले बिहिबार पाउरोटी किनेकी थिइन् । मण्डलले बिहानै जानकारी गराए पनि कम्पनीमै जान सल्लाह दिएको शाहले बताए । ‘हामीले भन्दा गल्ती भयो भन्दै फालिदिन्छ, उतै लगेर जानु भनेको थिएँ ।’ शाहले भने । यता धरान क्वालिटी बेकर्सका सञ्चालक डिकेन्द्र गिरीले आफूलाई केही थाहा नभएको बताए ।
उनीसँग बुझ्न खोज्दा आफैँ अचम्मित भएको बताए । अहिलेसम्म त्यस्तो नभेटिएको दाबी गर्दै उनले ब्रेड बनाउँदा ढक्कन लगाउन बिर्सँदा त्यस्तो भएको हुन सक्ने बताए । तर त्यस्तो हुनु नपर्ने हो उनले भने । पाउरोटीको उत्पादन मिति र अन्तिम मितिका बारेमा धरानमा कुनै पनि उद्योगले मिति नहाल्ने गरेको बताए । दैनिक रुपमा पाउरोटी उत्पादन हुने भएकाले दैनिक जसो नै बजारमा जान्छ त्यसैले पनि हाल्नु नपरेको उनको भनाई छ ।
तर पसलले राखेको स्टकको आधारमा बिक्री गर्ने बेलामा स्टिकर टाँस्ने गरेको उनले बताए । धरान क्वालिटी बेकर्सले उत्पादन गरेको पाउरोटीहरु गर्मी मौसममा ४ दिन र जाडो मौसममा ६ दिनसम्म राखेर बिक्री गर्न सकिने सञ्चालक गिरीको भनाई छ । तर पाउरोटीका प्याकेटहरुमा उत्पादन मिति र अन्तिम मिति नै नराखी पाउरोटीहरु बजारमा पुर्याईने गरिएको छ ।


0 comments
Write Down Your Responses