लमजुङस्थित सुन्दरबजार नगरपालिकाद्धारा ल्याण्डफिल्ड साईड शुरु
लमजुङस्थित सुन्दरबजार नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि ल्याण्डफिल्ड साईड शुरु गरेपछि नगरबासीमा खुसीयाली छाएको छ । लामो समयदेखिको संघर्षपछि नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि जग्गा पाएपछि ल्याण्डफिल्ड साइड संचालनमा आएको हो ।
नगरपालिकाले सुन्दरवजार नगरपालिका वडा नं ९ मा चापाखर्कस्थित कुटमेरे भन्ने ठाउँमा फोहोर व्यवस्थापन स्थल बनाएको हो । नगरपालिका भित्रको नकुहिने फोहोर अबदेखि ल्याण्डफिल्ड साईडमा व्यवस्थापन गरिने छ । सुन्दरबजार नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुकदेव लम्सालले फोहोर बर्गिकरण गरी नकुहिने मात्रै ल्याण्डफिल्ड साइडमा ल्याइने बताउनुभयो ।
नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा कदम चालेकोमा खुशी व्यक्त गर्दे प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी र स्थानीय विकास अधिकारी शेखर पौडेलले फोहोर व्यवस्थापन स्थललाई व्यवस्थित रुपमा निरन्तर अघि वढाउनुपर्नेमा जोड दिनुभयो ।
फोहोर व्यवस्थापनको लागि नगरपालिकाले १८ रोपनी जग्गा सम्झौता गरिसकेको छ । स्थानिय टोलवासी, जग्गाधनी, नगरपालिका र स्थानिय राजनितिक संयन्त्रका प्रमूखहरुको रोहवरमा ३० बर्षको लागि जग्गा भाडा सम्झौता भएको कार्यकारी लम्सालले बताउनुभयो । जग्गाको लागि नगरपालिकाले प्रतिवर्ष एकलाख १८ हजार रुपैया भाडा तिर्ने सहमति भएको जनाएको छ ।
यसअघि भोटेओडारको जग्गा फोहोर व्यबस्थापनको लागि छनौट गरिएको भएपनि विवादको कारण फोहोर व्यवस्थापनमा समस्या भएको थियो । सुन्दरवजार र भोटेओडारको फोहोर एकैस्थानमा व्यबस्थित हुने भएपछि सम्भावित प्रदुषण कम हुने भएको छ ।

0 comments
Write Down Your Responses