हाजिरी नपुगेका कास्कीका एक सय २९ विद्यार्थीले एसएलसी दिन नपाउने
कास्की, १५ चैत – यसवर्ष कास्कीका एक सय २९ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका र समयमा परीक्षा दस्तुर बापतको रकम नबुझाएकाहरु फारम भरेर पनि परीक्षामा सहभागी हुन नपाउने भएका हुन्।
अघिल्लो वर्ष एक सय ५९ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका थिए । फारम भरेका विद्यार्थी पनि परीक्षामा सहभागी हुन नपाउनु दुःखको कुरा भएको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ ।
चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षामा यो वर्ष कास्कीबाट नियमित तर्फ १० हजार चार सय ६७ र आंशिक तर्फ १२ सय ३ गरी कुल ११ हजार ६ सय ७० परीक्षार्थी सहभागी हुने छन् ।
कास्कीमा ३० वटा परीक्षा केन्द्र तोकिएकोमा सबै केन्द्रमा उत्तर पुस्तिका पुगिसकेको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । परीक्षामा ३० वटा केन्द्रको लागि ३० जना केन्द्राध्यक्ष, ५५ जना सहायक केन्द्राध्यक्ष, निरीक्षक ५ सय ६५, सहयोगी दुई सय ५५ र सुरक्षाकर्मी दुई सय १० जना खटिने छन्। \

0 comments
Write Down Your Responses