शनिबार बेपत्ता भएका ५ वर्षीय बालकको शव गहुँ बारीमा फेला
चैत ७, जनकपुर उपमहानगरपालिका १९ वेंगाशिवपुरका मोहम्मद असलम राईन कवारीका ५ वर्षीय छोरा असरफ राईनको अपहरणपछि हत्या भएको छ ।
प्रहरीले शनिबार बिहान १० बजे घरबाट खेल्ने क्रममा बेपत्ता भएका असरफको शव आइतबार बिहान घर नजिक गहुँ खेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको बताएको छ ।
बालकको टाउकोमा चोट लागेका कारण कुटपीट तथा घाँटी थिचेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । वैदेशिक रोजगारको शिलशिलामा बालकका बुबा कतारमा रहेका छन् । एक छोरा र दुई छोरी रहेको असरफका परिवारमा एक मात्र छोराको हत्या भएपछि आमा अपसना खातुन अचेत अवस्थामा छन् ।
बालकका काका सोमन राईनले असरफ घरबाट शनिबार बिहानै बेपत्ता भएको र आफूहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराई आफन्त नातागोता कहाँ खोजखबर गर्दा फेला नपरेको र आइतबार बिहानै गहुँ खेतमा बालकको शव हत्या गरेर फालिएको अवस्थामा फेला परेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक नकुल खरेलले बालकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

0 comments
Write Down Your Responses